अपि पावरको ४०% हकप्रद शेयरमा आजदेखि आवेदन खुला

अपि पावरको ४०% हकप्रद शेयरमा आजदेखि आवेदन खुला


बैंकिङ्ग समाचार, काठमाडौं ।
अपि पावर कम्पनी लिमिटेडले आज साउन ३१ गते बुधवारदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । 

यस अनुसार कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

कम्पनीले असार २१ गतेसम्म कायम शेयरधनीहरूका लागि यो हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार २२ गते एक दिन बुकक्लोज गरेको थियो । बुकक्लोजको आधारमा असार २१ गतेसम्म कायम शेयरधनीहरू मात्र आवेदन दिनका लागि योग्य हुनेछन् ।

हकप्रद शेयर निष्काशनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले अपि पावर, मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ ।

हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार ९१२ रुपैयाँ पुग्नेछ ।