नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर रहेको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नामको ऋणपत्र निष्कासन गरेको हो ।

बैंकले छिटो अवधि साउन २२ गतेभित्र सम्पूर्ण कित्ता बिक्री नभएपछि अवधि थप गरेको थियो । बैंकले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ हजार रूपैयाँ अंकित मूल्यको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको थियो ।

कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने जानकारी दिएको बैंकले बाँकी ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न लागेको हो । सर्वसाधारणतर्फको ऋणपत्रमध्य ५ प्रतिशत दरको ४० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । 

सर्वसाधारणमा ७ लाख ६० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमा ल्याएको हो । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी भने एनएमबि क्यापिटल लिमिटेडले पाएको छ ।

बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयसँगै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

बैंकले ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल ए रेटिङ्ग प्रदान गरेको छ । यो ऋणपत्र प्राप्त गर्ने लगानीकर्ताहरूले ऋणपत्रबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी प्राप्त गर्न सक्नेछन् ।