६० किलो अवैध सुन राष्ट्र बैंकले खरिद गर्ने

६० किलो अवैध सुन राष्ट्र बैंकले खरिद गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
अवैध रुपमा नेपाल भित्रिएको सुन नेपाल राष्ट्र बैंकले खरिद गर्ने भएको छ । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय बाहिरबाट जफत गरिएको अवैध सुन राष्ट्र बैकले खरिद गर्ने भएको छ । बरामद गरिएको सुन मंगलवार राष्ट बैंकको टक्सार महाशाखाले गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो । 

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा मंगलबार 'ब्रेक सु' बाट छुट्टाएको सुन गालिएको थियो । सोमबार 'ब्रेक सु'बाट सुन छुट्याउने काम भएको थियो । 'ब्रेक सु' बाट छुट्याएको सुनको तौल ६० किलो ७८९ ग्राम थियो भने पगाल्दा सुन ७३ ग्राम घटेर ६० किलो ७१६ ग्राम भएको हो । टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यलेले 'ब्रेक सुु' बाट छु्टयाएको ६० किलो ७८९ ग्राम सुन पगाल्दा ६० किलो ७१६ ग्राम मात्रै भएको जानकारी दिए ।

उनका अनुसार सुन गालेर ३४ वटा विस्कुट बनेका छन् । उनले अब गुणस्तर र आर्थिक परीक्षणको काम थालिने बताए, त्यसपछि मात्रै सुनको वास्तविक गुणस्तर आउनेछ । 

सुन प्रकरणको अनुसन्धान सुरूमा राजस्व अनुसन्धान विभागले गरेपनि पछि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिइएको छ ।

अनुसन्धान प्रक्रिया टुङ्गिसकेपछि उक्त सुन राष्ट्र बैंकले खरिद गर्नेछ । राजश्व छलेर आएको सुन बरामद पछि त्यो स्वत: सरकारको सम्पत्ति हुन्छ । सुन बराबरको मूल्य सरकारी खातामा जम्मा गरिदिएपछि नेपाल राष्ट्र बैंकले राख्दछ । यसरी सरकारसँग सुन खरिद गर्दा राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा पाँच प्रतिशत बढी रकम दिने छ ।