मिड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मिड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं । 
मिड सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानियबासिन्दाका लागी बिक्री खुला गरेको आइपीओमा आवेदन दिने आज साउन ३० गते अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ७ लाख ४८ हजार ४०० लाख साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

सोमध्ये ५ लाख ६१ हजार ३०० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ६ र ८ का बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ भने १ लाख ८७ हजार १०० कित्ता शेयर सो बाहेकका सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि बाँडफाँट गरिनेछ ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै बिक्री प्रबन्धकको वेभसाइटमा गई रितपूर्वक विवरण भरी पनि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।