बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्ला आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३० करोड ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.३९ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४३ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.४६ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ३२.५४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २५.९१ प्रतिशत घटेको छ । सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा भने ७५ करोड ६० लाख रुपैयाँ रहेको छ ।
१८ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ लघुकर्जा पुर्याएको यो लघुवित्तले स्वपूँजीमा १२.०२ प्रतिशत प्रतिफल प्राप्त गरेको जानकारी दिएको छ । २ अर्ब २३ करोड १८ लाख बचत परिचालन गरिएको र निष्कृय कर्जालाई ४.६४ प्रतिशतमा सीमित पारेको पनि सो वित्तीय संस्थाले जनाएको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको ईपीएस ७ रुपैयाँ ५३ पैसा घटेर १७ रुपैयाँ २५ पैसामा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ४८ पैसा रहेको छ । त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ४२.२६ गुणा रहेको छ ।
१ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँ सञ्चित छ ।
प्रतिक्रिया