अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री लगातारको दौडधुपमा रहेको अर्थमन्त्री कार्यालयको जानकारी

अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री लगातारको दौडधुपमा रहेको अर्थमन्त्री कार्यालयको जानकारी


बैंकिङ्ग समाचार, काठमाडौं ।
हाल अर्थतन्त्रमा आएका विभिन्न समस्या समाधान गर्न तथा अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महत लगातार दौडधुपमा रहेको अर्थमन्त्रीको कार्यालयले जनाएको छ । एक विज्ञप्ती जारी गर्दै अर्थमन्त्रीको कार्यालयले पछिल्लो समय अर्थमन्त्री डा. महतले अर्थतन्त्र सुधारका लागि गर्नुपर्ने कामबारे निजी क्षेत्र, दातृ निकाय तथा बैदेशिक लगानीकर्ता, नियामक निकाय तथा कर्मचारी संयन्त्रसँग निरन्तर छलफल गरिरहेको जनाएको छ ।

यसका साथै, कार्यालयले भनेको छ, ‘अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महत अहोरात्र दौडधुप गरिरहनु भएको छ । अर्थमन्त्री डा. महतको एकमात्र अर्जुनदृष्टि भनेको देशको अर्थतन्त्रलाई चलायमान बनाउनु हो । निजी क्षेत्रसहित सबै क्षेत्रसँग हातमालो गरेर देशको अर्थतन्त्रमा थप सुधार ल्याउन मन्त्री डा. महत युद्धस्तरमा लाग्नु भएको छ ।’

अर्थमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तीमा थप भनिएको छ, ‘आइतबार मात्रै निजी क्षेत्रका तीनवटा संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल राष्ट्र बैंकका गर्भनर र नेपाल बैंकर्स संघसँग छलफलमा मन्त्री डा. महत जुट्नु भयो । मन्त्री डा. महतले आज वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुलाई अर्थमन्त्रालयमा छलफलका बोलाएर समग्र बैंकिङ प्रणालीमा देखिएको समस्या र अहिले तरलता सहज हुँदा पनि कर्जाको माग बढ्न नसक्नुको कारणबारे जानकारी लिनु भयो । अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले कसरी सहयोग गर्न सक्छ र त्यसका लागि नेपाल राष्ट्र बैंक र सरकारले के सहयोग गर्नुपर्ने हो भनी सीइओहरुलाई जिज्ञासा राख्नुभएको थियो ।

\"\"

आइतबार भन्सार विभागद्वारा आयोजित भन्सार व्यवस्थापन कार्यशालामा कर्मचारीलाई निर्देशन दिँदै कर्मचारीले सोचमा परिवर्तन गर्न ढिलो गर्न नहुने बताउनु भएको थियो । जिम्मेवारीमा सम्झौता नगरी काममा व्यवसायिकता, सम्मान र समर्पण हुनुपर्ने बताउनु भएको थियो ।

मन्त्री डा. महतको व्यस्तता विहानदेखि राति अबेरसम्म हुने गरेको छ । कसरी देशको अर्थतन्त्रलाई लयमा ल्याउने, वैदेशिक लगानी कसरी भित्र्याउने, निजी क्षेत्रको लगानी कसरी वृद्धि गर्ने र राजश्व संकलनमा कसरी लक्ष्य भेट्टाउने योजनाको कार्यान्वयमा उहाँको व्यस्तता रहेको छ ।

\"\"

मन्त्री डा. महतले यसपटकको बजेटमा युवाहरुलाई मध्यनजर गरेर युवा उद्यमशीलता (स्टार्टअप), आइटी र रिसर्चमा ठूलो रकम विनियोजन गरिएकोले यसका लागि आवश्यक सूचना सम्बन्धित निकायबाट लिएर युवाहरुले देशमै स्वरोजगार बन्न आग्रह गर्नुभयो ।

गत शुक्रबार मन्त्री डा. महतले अमेरिकी सहयोग नियोग (युएसआईडी) बाट सञ्चालित आयोजनाको प्रगति समीक्षामा घनीभूत छलफल गर्नुभएको थियो । अनुदान रकम बढाउन, जलवायु परिवर्तनलाई सम्बोधन गर्ने गरी सहयोग दिन, नेपाली जनताको जीविकोपार्जनका लागि ग्रामीण पूर्वाधारका आयोजनामा लगानी गरेर ठोस नतिजा हासिल हुने क्षेत्रमा लगानी गर्न दातृ निकायहरुसँग मन्त्री डा. महत निरन्तर छलफलमा हुनुहुन्छ ।’

\"\"