सोनापुर मिनरल्सको पहिलो चरणको आईपीओमा आजदेखि आवेदन दिन सकिने

सोनापुर मिनरल्सको पहिलो चरणको आईपीओमा आजदेखि आवेदन दिन सकिने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले आज साउन २९ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो । 

कम्पनीले प्रिमियम मूल्यसहित आईपीओ विक्री गर्ने भएको छ । आयोजना प्रभावित स्थानीयमा प्रतिकित्ता १०० अंकित मूल्यमा प्रिमियमबापत १२५ रुपैयाँ थप गरी प्रतिकित्ता २२५ रुपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँमा प्रिमियमबापत १३७ रुपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ विक्री गर्न अनुमति पाएको हो ।

सर्वसाधारणतर्फको शेयरमध्ये १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयका लागि जारी गर्न लागिएको छ । कुल कित्ता आईपीओमध्ये कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पाका स्थानीय बासिन्दाका लागि १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ विक्री गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने १० लाख ७६ हजार २६८ कित्ता आईपीओ विक्रीमा आउनेछ ।  

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ताको माग गर्न सकिनेछ । अधिकतम कित्ताका लागि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले १५ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले १० लाख ७६ हजार २६८ कित्ता आईपीओ माग गर्न सक्नेछन् । 

स्थानीयका लागि आईपीओ विक्री अवधि छिटोमा भदौ ११ गतेसम्म तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा स्थानीयले ढिलो अवधि भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने भदौ ११ गतेभित्र आवेदन दिनु पर्नेछ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड छ । स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

यस कम्पनीले दाङमा क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ ।