नेप्सेमा आज ४१.०६ अंकको उच्च वृद्धि, कारोबार रकम १ अर्ब ८८ करोडमा सिमित

नेप्सेमा आज ४१.०६ अंकको उच्च वृद्धि, कारोबार रकम १ अर्ब ८८ करोडमा सिमित


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको चौथो दिन आज बुधवार घट्ने क्रम अन्त्य भई उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ४१.०६ अंकले बढेर २ हजार ६० दशमलब ९१ विन्दुमा बन्द भएको हो । मंगलवार नेप्से २८.४० अंकले घटेर २ हजार १९ दशमलब ८५ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा उच्च अंकको वृद्धि भएसँगै कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । आज १ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार १ अर्ब ७३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज नेप्सेमा कारोबार भएका २०० कम्पनीको शेयरमूल्य बढेको छ भने १८ कम्पनीको शेयरमूल्य घटेको छ, २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज चार कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढि वृद्धि भएको छ । आज हिमालयन लघुवित्त, सुपर मादि हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य सर्किट लेभलमा बढेको हो ।

आज ग्लोबल सेन्चुरी  डिबेन्चर २०८्८ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्यमा आज नकारात्मक सर्किट लागेको छ । 

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी आइएमई लाईफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको आज १५ करोड ५० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।