सन नेपाल लाइफले सर्वसाधारणमा साउन ३२ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने

सन नेपाल लाइफले सर्वसाधारणमा साउन ३२ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि साउन ३२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न लागेको हो ।

जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न कम्पनीले अनुमति पाएको थियो । कम्पनीले सर्वसाधारणतर्फको कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको ९ लाख ६० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ५ प्रतिशत दरको ४ लाख ८० हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँड गरिसकेको छ ।

इन्स्योरेन्सको ४ लाख ८० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ । सर्वसाधारणले अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले कम्पनीको आईपीओ खरीदका लागि भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने भदौ १४ गतेसम्म विक्री अवधि थप हुने कम्पनीको भनाई  । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषत स्तरको सुरक्षित रहेको संकेत केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।