बैंकिङ्ग समाचार, काठमाडौं ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सो अवधिसम्ममा लघुवित्तको खुद नाफा ८ करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १५ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको थियो । लघुवित्तको ब्याज आम्दानी घटेर खराब कर्जा बढेसँगै नाफामा नकारात्मक असर पुगेको हो ।
लघुवित्तको ब्याज आम्दानी ३१.३२ प्रतिशत घटेर ३६ करोड ६९ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ५३ करोड ४३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
साथै, लघुवित्तको खुद फि तथा कमिशन आम्दानी २९.०१ प्रतिशत र कुल सञ्चालन आम्दानी ३१.०२ प्रतिशत घटेको छ । समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ३.२७ प्रतिशतबाट बढेर ८.३६ प्रतिशत पुगेको छ । यससँगै लघुवित्तले १३ करोड ३ लाख रुपैयाँ कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था गरेको छ । जसका कारण लघुवित्तको सञ्चालन मुनाफा ८ करोड ३४ लाख रुपैयाँ ऋणात्मक हुन पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १५ प्रतिशत बढेर ४४ करोड १६ लाख रुपैयाँ, जगेडा कोष २०.७९ प्रतिशत घटेर ३४ करोड ८९ लाख रुपैयाँ, निक्षेप तथा सापटी २३.७५ प्रतिशत घटेर ५ अर्ब ३४ करोड ५७ लाख रुपैयाँ र कर्जा २५.१५ प्रतिशत घटेर ५ अर्ब ७६ करोड रुपैयाँ रहेको छ ।
असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी (ईपीएस ) १८ रुपैयाँ ८१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ १ पैसा रहेको छ । यद्यपी लघुवित्तको वितरणयोग्य नाफा भने ६ करोड ९० लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया