ग्लोबल आइएमई बैंकले नाफामा नबिललाई पछ्याउँदै, कमायो ७ अर्ब २५ करोड खुद नाफा

ग्लोबल आइएमई बैंकले नाफामा नबिललाई पछ्याउँदै, कमायो ७ अर्ब २५ करोड खुद नाफा


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकले २०८० असार मसान्तसम्ममा ७ अर्बभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ । 

खुद नाफा ७ अर्ब भन्दा बढि कमाउनेमा दुई बैंक रहेका छन्, जसमा नबिल बैंकले ७ अर्ब ५२ करोड नाफा कमाउदा उसलाई पछ्याएको ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । ग्लोबल आइएमई बैंकले कमाएको उक्त नाफा आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा ४६.२६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको असारसम्म बैंकको खुद ब्याज आम्दानी ६६.३७ प्रतिशत बढेर १७ अर्ब ११ करोड ८२ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १० अर्ब २८ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत वर्षको असारसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ८.२७ प्रतिशत रहेको छ ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५६ पैसा घटेर २० रुपैयाँ २८ पैसामा रहेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ८.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ५ पैसा रहेको छ ।

३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २२ अर्ब ९१ करोड १६ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप ५३.९३ प्रतिशत बढेको छ भने कर्जा लगानी ३८.०९ प्रतिशत बढेको छ ।