बैंकिङ्ग समाचार, काठमाडौं ।
दुई संस्थाहरु कुमारी बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको कुल ८ लाख ७ हजार ६९९ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ५० हजार कित्ता र कुमारी बैंकको ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक शेयर साउन १९ गतेदेखि विक्रीमा आएको हो । कुमारी बैंकको शेयरमूल्य प्रतिकित्ता १०५ रूपैयाँ र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य प्रतिकित्ता १६५ रूपैयाँ तोकिएको छ ।
दुवै कम्पनीहरुको संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् । कुमारी बैंकको शेयर खरीदका लागि भदौ १ गतेसम्म र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर खरीदका लागि साउन २६ गतेसम्म सम्बन्धीत कम्पनीहरूले तोकेको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ता माग गरेर आवेदन पेश गर्न सकिनेछ ।
यी कम्पनीहरुको यस शेयर बाँडफाँडमा प्राप्त गर्ने शेयरधनीहरूले साउन १९ गतेपछि कम्पनीहरूद्वारा घोषणा हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्नेछन् । दुबै बैंकको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया