बैंकिङ्ग समाचार, काठमाडौं ।
अपि पावर कम्पनी लिमिटेडले साउन ३१ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
कम्पनीले असार २१ गतेसम्म कायम शेयरधनीहरूका लागि यो हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार २२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार २१ गतेसम्म कायम शेयरधनीहरू मात्र आवेदन दिनका लागि योग्य भएका हुन ।
गत चैत ६ गते हकप्रद शेयर निष्काशनका लागि बोर्डमा निवेदन पेश गरेको कम्पनीले असार ६ गते बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले हाल कायम चुक्तापूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रूपैयाँको आधारमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित दरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । ४० प्रतिशत हकप्रद शेयर बाँडफाँड पश्चात् कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड ६५ लाख रूपैयाँभन्दा बढी पुग्नेछ ।
हकप्रद शेयर निष्काशनका लागि गराईएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत रहेको गर्ने केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
प्रतिक्रिया