बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले मल्टीपर्पस फाइनान्स र सिनर्जी पावर डेभलपमेन्टको शेयरमूल्य समायोजन गरेको हो ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ यी दुई कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले यस दिन मल्टीपर्पसको ३५ प्रतिशत र सिनर्जीको ५० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो । समायोजनपश्चात मल्टीपर्पसको शेयरमूल्य ३१८ रुपैयाँ ३७ पैसा कायम भएको छ भने सिजर्नीको २०३ रुपैयाँ ३३ पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बिहीबार, मल्टीपर्पसको शेयर प्रतिकित्ता ३९४ रुपैयाँ ८० पैसा र सिनर्जीको शेयर प्रतिकित्ता २५५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
मल्टीपर्पस फाइनान्सले १ बराबर ०.३५ अनुपातमा हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यस अनुसार फाइनान्सले १५ करोड ८२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १५ लाख ८२ हजार कित्ता शेयर निष्काशन गर्नेछ ।
त्यसैगरी, सिनर्जीले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद बिक्रीमा ल्याउनेछ ।
प्रतिक्रिया