शेयर बजारमा दोहोरो अंकको गिरावट, २९.७१ अंकले नेप्से घट्दा करिब साढे २ अर्बको कारोबार

शेयर बजारमा दोहोरो अंकको गिरावट, २९.७१ अंकले नेप्से घट्दा करिब साढे २ अर्बको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकको गिरावट भई बन्द भएको छ । आज नेप्से २९.७१ अंकले घटेर २ हजार १ सय २६ दशमलब ४८ विन्दुमा बन्द भएको हो । बुधवार नेप्से ८.११ अंकले घटेर २ हजार १ सय ५६ दशमलब २० विन्दुमा बन्द भएको थियो ।

आज नेप्सेमा दोहोरो अंकको गिरावट भएपनि कारोबार रकम भने स्थिर रहेको छ । आज २ अर्ब ४२ करोड ५७ लाख बराबरको कारोबार भएको छ । बुधवार २ अर्ब ४३ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १६ कम्पनीको शेयरमूल्य बढेको छ भने १९३ कम्पनीको शेयरमूल्य घटेको छ, ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

यसमध्ये आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको शेयरमूल्य ७ प्रतिशत भन्दा बढिले वृद्धि भएको छ । 

आज सबैभन्दा बढी किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १० करोड ५७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।