बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल एसबिआई बैंक लिमिटेडले साउन १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ निष्काशन गर्न लागेको हो ।
बैंकले नेपाल धितोपत्र बोर्डबाट प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न अनुमति पाएको थियो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने जानकारी दिएको बैंकले बाँकी ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न लागेको हो ।
सर्वसाधारणतर्फको ऋणपत्रमध्य ५ प्रतिशत दरको ४० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । सर्वसाधारणमा ७ लाख ६० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्काशनमा ल्याउन लागिएको हो । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । ऋणपत्र विक्री अवधि छिटोमा साउन २२ गतेसम्मका लागि तोकिएको छ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा साउन ३२ गतेसम्म विक्री लम्बिनेछ ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ ।
प्रतिक्रिया