मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा स्थानियले आवेदन दिने आज अन्तिम दिन

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा स्थानियले आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले असार १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आइपीओमा आवेदन दिने आज साउन ९ गते अन्तिम दिन रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आइपीओ भने साउन २ गते नै विक्री बन्द भइसकेको छ ।

कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । सो शेयरका लागि दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं ५, ६, ७ र ८, बिगु गाउँपालिका वडा नं. ४ र कालिञ्चोक गाउँपालिका वडा नं. ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले कम्पनीको रजिष्टर्ड कार्यालय, प्रभु बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तोकिएका शाखा कार्यालय तथा गौरीशंकर गाउँपालिकाको कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।