नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बन्छः अर्थमन्त्री महत

नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बन्छः अर्थमन्त्री महत


बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने बताएका छन् । सोमवार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने बताएका हुन् ।

उनले आईतवार सार्वजनिक मौद्रिक नीतिमा आफूले भन्दै आएको ब्याजदरमा खुकुलो पनलाई सम्बोधन गरिएको र अब निजी क्षेत्रमा लगानी सहज हुने तथा ब्याजदर घट्दै जाने जिकिर गरेका छन् । उनले वित्त नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने भएको पनि बताए । 

‘त्यसले निजी क्षेत्रमा लगानी पनि सहज हुन्छ । ब्याजदर पनि कम भएर जान्छ,’ उनले बताए ।

उनले अहिले समग्रमा हेर्दा मूल्यवृद्धि कम भएको दाबी समेत गरे, ‘कुनै वस्तुमा बढेको पनि होला तर समग्रमा घटेको छ,’ उनले भने । उनले सरकार हाल विद्यमान विसंगतिलाई चिर्दै समस्याको समाधान खोजेर अघि बढिरहेको दावि गरेका छन् ।

अर्थमन्त्री महतले सय किलो सुन आफूले आर्थिक वर्ष २०८०/८१ मा ल्याएको सूचना दिनेलाई पुरस्कारको व्यवस्थाका कारण पक्राउ परेको पनि दाबी गरे । अर्थमन्त्रीले सुन प्रकरणमा अहिले अनुसन्धान भइरहेको र गैरकानुनी काम गर्ने जो कोहीलाई पनि कारबाही हुने बताए । उनले भन्सारमा प्रविधिको अपडेट र आधुनिक मेसिन जडान गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भन्सारमा हुने अनियमिततालाई निस्तेज पार्नुपर्ने आवश्यकता रहेको समेत बताए ।