बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकले चौथो त्रैमाससम्म १ अर्ब ४५ करोड ९२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.७१ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएकोे थियो । खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो । बैंकको खुद ब्याज आम्दानी ४४.७५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १३६.३७ प्रतिशत बढेको छ । गत वर्षको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २ अर्ब ७२ करोड ५३ लाख रुपैयाँ र खुद फि तथा कमिशन आम्दानी २ करोड २७ ालख रुपैयाँ छ ।
गत वर्ष कम्पनीको सञ्चालन नाफा ४२ दशमलव ६८ प्रतिशत बढी २ अर्ब ८ करोड ८२ लाख रूपैयाँ भएको छ । चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने १ अर्ब ५ करोड ४९ लाखभन्दा बढी रहेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ २ पैसा बढेर ६ रुपैयाँ ७६ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३३.१६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ५७ पैसा रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी २१ अर्ब ६० करोड रूपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष रकम भने अघिल्लो वर्षको तुलनामा गत वर्ष करिब ३२ प्रतिशत बढी २ अर्ब २८ करोड ३२ लाख रूपैयाँभन्दा बढी कायम भएको छ । गत चौथो त्रैमाससम्म अघिल्लो वर्षको तुलनामा १०३ दशमलव ५७ प्रतिशत बढी निक्षेप संकलन गरेको कम्पनीले २९ दशमलव ६१ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया