अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओमा स्थानीयले आवेदन दिने आज अन्तिम दिन

अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओमा स्थानीयले आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडको आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाले खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा असार ७ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री खुला गरेको थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने असार २१ गतेसम्म आईपीओ विक्री गरि सम्पूर्ण कित्ता आईपीओ साउन २ गते बाँडफाँड गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले १ लाख ९८ हजार ८२४ कित्ता आईपीओ बाँडफाँड सम्पन्न गरेको हो ।

कम्पनीले जारी पूँजी रू. ५० करोड ९८ लाख ४ हजारको १० प्रतिशत अर्थात रू. ५ करोड ९ लाख ८० हजार ४०० बराबरको ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ आयोजना प्रभावित स्थानीय वासिन्दाहरूका लागि निष्काशन गरेको हो । आयोजना प्रभावित स्थानीयका लागि विक्री गरिने कुल कित्ता शेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ५४ हजार ९०२ कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्र नौमुले गाँपालिका वडा नं. ३ का बासिन्दाहरूको लागि र ५० प्रतिशत उक्त क्षेत्र बाहेकका सम्पूर्ण दैलेख जिल्लाबासीहरूका लागि विक्री गर्न लागिएको हो । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । वासिन्दाहरूले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।