बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार ३१ गते देखि वैदेशिक रोजगारीमा रहेका नेपालीमा प्रिमियममा आईपीओ निष्काशन गरेको छ । इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गरेको हो ।
जारी पूँजी रू. ३ अर्ब ७५ करोडको ३० प्रतिशत शेयर विक्री गर्न अनुमति पाएकोमा पहिलो चरणमा ११ लाख २५ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको हो । कुल कित्ता शेयरमध्ये ५ लाख ६२ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरूमा प्रतिकित्ता रू. १०० अंकित मूल्यमै विक्री गर्ने कम्पनीले जानकारी दिएको छ ।
यीबाहेक ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित राखी ९० लाख कित्ता भने दोस्रो चरणमा सर्वसाधारणमा सार्वजनिक निष्काशनमा ल्याइने कम्पनीले जानकारी दिएको छ ।
इन्स्योरेन्सको शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ । यसले इन्स्योरेन्सको वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया