बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आज असार २९ गते शुक्रबारदेखि एकिकृत कारोबार सुरु गरेका छन् । मर्जर सम्बन्धी सम्पुर्ण काम सकाएर “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” को नामबाट एकीकृत कारोबार थालेको हो ।
दुवै कम्पनी सेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुने भएका हुन् । दुवै कम्पनीको जेठ २६ गते अलग/अलग स्थानमा सम्पन्न साधारण सभाले मर्जर सम्बन्धी प्रस्तावलाई पारित गरेको थियो ।
मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा प्रभु लाइफका सुभास अमात्य र प्रमुख कार्याकारी अधिकृतमा महालक्ष्मी लाइफका रमेश कुमार भट्टराई रहेका छन् ।
हाल प्रभु लाइफको चुक्ता पूँजी २ अर्ब १९ करोड रुपैयाँ (बोनसपछि) छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको पूँजी २ अर्ब १० करोड रुपैयाँ छ । मर्जरपछि बन्ने नयाँ कम्पनीको चुक्ता पूँजी ४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।
बीमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजीको लागि कम्पनीले १० करोड बराबरको प्रिमियम मूल्यमा एफपिओ निष्काशन गर्ने तयारी गरेको छ ।
एकिकृत कारोबार प्रयोजनको लागि दुबै कम्पनीको सम्पुर्ण हर हिसाब तथा तथ्यांकलाई एकल इन्स्योरेन्स सफ्टवेयरमा समायोजन तथा क्लोजिङ्ग प्रयोजनको लागि असार २९ गते शुक्रबार देखि ३१ गतेसम्म कम्पनीको सम्पुर्ण बीमा सेवा, कारोबार तथा अन्य सेवा बन्द रहेने जनाएको छ ।
प्रतिक्रिया