बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार २९ गते शुक्रवारदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार ९४३ रुपैयाँ ५५ पैसाको आधारमा ५० प्रतिशत हकप्रद शेयर अर्थात ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार ९१५ रुपैयाँ ३३ पैसा पुग्नेछ ।
हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार १ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।
हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । योसँगै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया