बैंकिङ्ग समाचार, काठमाडौं ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आज असार २७ गते बुधवारदेखि पहिलो चरणको आईपीओ विक्री खुला गरेको छ । इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो ।
इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा १० प्रतिशत दरको १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।
कुल कित्ता शेयरमध्ये ५ प्रतिशत दरको ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता नै कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ ।
कर्मचारीहरूका लागि भने प्रतिकित्ता रू. १०० अंकित मूल्यमै शेयर विक्री गरिने कम्पनीले जानकारी दिएको छ । बाँकी ९६ लाख कित्ता आईपीओ भने कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याउनेछ ।
कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले जोखिम वहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।
यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
प्रतिक्रिया