माथिल्लो मैलुङ खोलाको पहिलो चरणको आईपीओ साउन ४ देखि विक्रीमा आउने

माथिल्लो मैलुङ खोलाको पहिलो चरणको आईपीओ साउन ४ देखि विक्रीमा आउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले साउन ४ देखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । सोमध्ये ५ लाख ७१ हजार ४३० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरुलाई बाँडफाँड गरिनेछ भने २ लाख ८५ हजार ७२० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि र सो क्षेत्र बाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १ लाख ४२ हजार ८५० कित्ता शेयर बाँडफाँड गरिनेछ ।

त्यस्तै कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने रू. १ करोड ५० लाख बराबरको १ लाख ५० हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागेको हो । 

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म दुवै समूहका खरीदकर्ताहरूले माग गर्न सक्नेछन् । आयोजना प्रभावित स्थानीयमा यो आईपीओ छिटोमा साउन १८ गतेसम्म विक्रीको मिति तय गरिएको छ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ १ गतेसम्म विक्री लम्बिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन १८ गतेभित्र आवेदन पेस गरिसक्नुपर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ ।

विक्री प्रबन्धकसँगै आयोजना प्रभावित स्थानीयले आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक तथा एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइनबाट समेत वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्ने व्यवस्था छ । 

कम्पनीले यस आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।