बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत २० अर्ब तान्दै

बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत २० अर्ब तान्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंकिङ्ग प्रणालीमा अत्यधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले मंगलवार २० अर्ब रुपैयाँ खिच्ने भएको छ । अघिक तरलता हुँदा केन्द्रिय बैंकलाई ब्याजदर करिडोर अनुसार ब्याजदर कायम गर्न गाह्रो परेको हुनाले राष्ट्र बैंकले मंगलवार रिभर्स रिपो जारी गरी २० अर्ब रुपैयाँ खिच्न लाखेको हो । 

हाल अन्तरबैंक ब्याजदर १ प्रतिशतमा झरेपछि केन्द्रिय बैंकले उक्त रकम बैंकहरुबाट तान्न लागेको हो । उक्त रकम केन्द्रिय बैंकले २ साताको लागि खिच्न लागेको जनाएको छ ।

अहिले बैंकहरुमा निक्षेप संकलन बढिरहेको अवस्थामा छ तर कर्जा लगानी भने सोहि मात्रामा बढ्न सकेको छैन । फलस्वरुप बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको अवस्था छ । अहिले एक बैंकले अर्को बैंकसँग लिने सापटी अर्थात अन्तरबैंक सापटीको ब्याजदर पनि १ प्रतिशतमा झरेको छ ।

आर्थिक वर्षको अन्तिममा सरकारको खर्च पनि बढ्ने भएकोले बैंकहरुमा निक्षेप संकलन थप बढ्ने निश्चित छ । तर कर्जा लगानी भने नभएकोले अझै तरलता थुप्रने देखिएको छ ।

केन्द्रिय बैंकको तथ्यांक अनुसार अहिले बैंकहरुको औसत सिडि रेशियो पनि ८२ प्रतिशतमा झरेको छ ।