बैंकिङ्ग समाचार, काठमाडौं ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले साउन १७ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ । असार २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लिसारा रिसेप्सन भगवली बहाल नक्साल, काठमाडौंमा अपराह्न ४ बजे सभा गर्ने निर्णय गरेको हो ।
यस वर्ष कम्पनीले लगानीकर्ताको हात भने खाली बनाएको छ । यसअघिका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लाभांश प्रस्ताव गरेको छैन । यसअघिको आर्थिक वर्ष ०७६/७७ मा कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
सभाले संचालक समितिको वार्षिक प्रतिवेदन २०७७/७८ प्रस्तुत गरी अनुमोदन गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा, नोक्सान हिसाब नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्नेछ । कम्पनीले शेयर संरचना परिवर्तनको प्रस्तावसमेत सभाका लागि तय गरेको छ ।
हाल कायम संस्थापक तर्फबाट ७० प्रतिशत र सर्वसाधारण तर्फबाट ३० प्रतिशत शेयर संरचना परिवर्तन गरी संस्थापकतर्फ ६५ प्रतिशत र सर्वसाधारणतर्फ ३५ प्रतिशत कायम गर्ने प्रस्ताव कम्पनीले गरेको हो । यसका लागि आवश्यक नियमावली संशोधन गरिने र त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले साउन ९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यस अनुसार साउन ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
प्रतिक्रिया