बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैंक र लक्ष्मी बैंकको सम्पूर्ण बैंकिङ्ग सेवा भोलीबाट दुई दिन अर्थात असार २७ र २८ गते बन्द हुने भएको छ । लक्ष्मी बैंक र सनराइज बैंकले असार २९ गतेबाट एकिकृत कारोबार शुभारम्भ प्रयोजनार्थ सम्पूर्ण बैंकिङ्ग सेवा बन्द गर्दैछन् ।
दुई बैंकबीच मर्जर सम्पन्न गरि एकीकृत कारोबार प्रयोजनका लागि दुवै बैंकको डाटा माइग्रेसनको काम गर्नु पर्ने भएकाले असार २७ गते र २८ गते दुई दिन दुबै बैंकको सम्पूर्ण सेवा बन्द रहने जनाएका छन् । यी दुई बैंकका सबै शाखा कार्यालयबाट दिने सेवा बन्द गर्ने जनाएका छन् ।
लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबारको मिति असार २९ गतेका लागि तय भएको छ । दुई बैंकबीच असार २९ गतेदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुने जनाएको छ ।
यसअघि मर्जरपछि बन्ने बैंकको कारोबार असार २४ गतेका लागि तोकिएको थियो । उक्त अवधिमा कर तिर्नका लागि बैंक बन्द नगर्नु पर्ने भएकाले असार २८ गतेदेखि एकीकृत कारोबार गर्ने भनेका थिए । पुनः सो समय पनि परिवर्तन गरेर असार २९ गतेका लागि समय निर्धारण गरिएको बैंकले जनाएको छ ।
यी दुई बैंकबीच गत जेठ ८ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो । दुबै बैंकको असार ३ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धि प्रस्ताव पारित गरेको थियो भने नेपाल राष्ट्र बैंकले असार २२ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार २४ गते अन्तिम स्वीकृति प्राप्त भएको हो भने नेपाल धितोपत्र बोर्डले समेत असार २५ गते पूर्व स्वीकृति प्रदान गरिसकेको छ । यी सबै प्रक्रिया सम्पन्न भएसँगै दुबै बैंक एक हुन लागेका हुन ।
प्रतिक्रिया