बैंकिङ्ग समाचार, काठमाडौं ।
आईएमई लाइफ इन्स्योरेन्सले असार २१ गतेदेखि सर्वसाधारणमा जारी गरेको आईपीओ खरीद गर्ने आज असार २५ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियमबापत रू. १३६ दशमलव ९१ थप गरी प्रतिकित्ता रू. २३६ दशमलव ९१ मूल्यमा सर्वसाधारणमा आईपीओ विक्री खुला गरेको हो । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि असार २५ गतेसम्म मात्र विक्रीमा रहने निश्चित भएको हो ।
इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको हो। सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यसैगरी, निष्काशन गरिएको कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।
इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया