भगवती हाइड्रोपावरको प्रिमियम मूल्यसहितको पहिलो चरणको आईपीओमा आजदेखि आवेदन खुल्ला

भगवती हाइड्रोपावरको प्रिमियम मूल्यसहितको पहिलो चरणको आईपीओमा आजदेखि आवेदन खुल्ला


बैंकिङ्ग समाचार, काठमाडौं ।
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज असार २४ गते देखि प्रिमियममा पहिलो चरणको आईपीओ निष्काशन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरमा प्रिमियम रकम १६ रुपैयाँ थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा ५ लाख ७२ हजार ६५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशनमा ल्याएको हो । सो शेयरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १३, १४, २६ र २७ (साविकको पोखरा उप महानगरपालिका वडा नं. १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं. २, ३, ४, ५, ६ र ७) का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ८५ लाख ८१ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँका दरले ८५ हजार ८१० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशनमा ल्याएको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन ७ गते हुनेछ भने ढिलोमा साउन २२ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ७ गतेभित्र आवेदन दिनु पर्नेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।