बैंकिङ्ग समाचार, काठमाडौं ।
गत असार ४ गतेदेखि स्थगित भएको घोराही सिमेन्ट्सको आईपीओ निष्काशन आज अर्थात असार २२ गतेदेखि पुनः सुचारु हुने भएको छ । असार २० गतेको नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार आईपीओ निष्काशन पुनः सुचारु गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता शेयर निष्काशन गरेको थियो । सो आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा असार २४ गते, आइतबारसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ३१ गतेसम्म लम्बिने कम्पनीले प्रकाशित गरेको सूचनामा उल्लेख छ । बोर्डको निर्देशन अनुसार शेयर खरिदका लागि आवेदन दिइसकेका आवेदकहरुले सो आवेदनमा शेयर संख्या थप/घट गर्न वा आवेदन फिर्ता गर्न चाहेमा असार २२ गतेदेखि २४ गतेसम्म आफ्नो सि-आस्बा सदस्य, बैंक तथा वित्तीय संस्थाहरुमा गई लिखित निवदेन दिन सकिने पनि साे सूचनामा उल्लेख छ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
प्रतिक्रिया