बैंकिङ्ग समाचार, काठमाडौं ।
आईएमई लाइफ इन्स्योरेन्सले आज असार २१ गते देखि सर्वसाधारणमा आईपीओ निष्काशन तथा बिक्री गरेको छ । यस अघि असार २० गतेदेखि निष्काशनको मिति तय गरेको कम्पनीले प्राविधिक कारण देखाई एक दिन पछि सारेको हो । इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा शेयर निष्काशन गरेको हो ।
इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । सोमध्ये कम्पनीले यस अघि १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ । त्यसैगरी, निष्काशन गरिने कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको १२ लाख कित्ता आईपीओ भने असार १९ गते बाँडफाँड गरेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले असार १ गतेदेखि १५ गतेसम्म आईपीओ विक्री गरेको थियो । कर्मचारीहरूमा भने कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमै आईपीओ विक्री गर्ने जानकारी दिएको छ ।
सर्वसाधारण लगानीकर्ताहरूले कम्पनीको आईपीओ खरीदका लागि न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयसँगै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनीको संकेत गर्ने केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।
प्रतिक्रिया