बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन पनि उच्च अंकको गिरावट जारी रहेको छ । सोमवार नेप्से २१.३२ अंकले घटेर २ हजार ७५ दशमलब ९७ विन्दुमा बन्द भएको छ । आइतवार नेप्से ५३.७० अंकले घटेर २ हजार ९७ दशमलब २९ विन्दुमा बन्द भएको थियो ।
नेप्सेमा उच्च अंकको गिरावट भएसँगै कारोबार रकममा पनि उच्च गिरावट भई ४ अर्बमा सिमित भएको छ । आज ४ अर्ब ५ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतवार नेप्सेमा ५ अर्ब ८ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका ४१ कम्पनीको शेयरमूल्य बढेको छ भने १७४ कम्पनीको शेयरमूल्य घटेको छ, १० कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
आज नेप्सेमा तिन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिवाइसी नेपाल लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १ हजार २ सय ८९ रुपैयाँ पुगेको छ भने बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ५ सय ५४ दशमलव ८० रुपैयाँ पुगेको छ तथा सिटी होटल्सको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५ सय ८ दशमलव ९० रुपैयाँ पुगेको छ ।
आज लक्ष्मी इक्विटि फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज करिब ९ प्रतिशतले घटेको छ ।
यस्तै, नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन लाइफको भएको छ । यस कम्पनीको आज २३ करोड ९४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया