बैंकिङ्ग समाचार, काठमाडौं ।
थ्रीस्टार हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओको अन्तिम बाँडफाँड भोली असार १९ गते मंगलवार गर्ने तयारी गरेको छ । असार १५ गते उक्त आईपीओको प्रि–अलोटमेन्ट सम्पन्न गरिसकेको कम्पनीले असार १९ गते अन्तिम बाँडफाँडको तयारी गरेको हो ।
कम्पनीले असार ५ देखि ८ गतेसम्म सर्वसाधारणका लागि ६ लाख १३ हजार १६२ कित्ता आईपीओ विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र कम्पनीको आईपीओ खरीदका लागि १० लाख ९२ हजारभन्दा बढी आवेदकहरूबाट १ करोड १९ लाख ८७ हजारभन्दा बढी कित्ता शेयर खरीद माग भएको छ । साढे १९ गुणा बढी आवेदन परेको कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमबाट बाँडफाँड हुनेछ । कम्पनीको आईपीओ ६१ हजार ३१६ जना योग्य आवेदकहरूले १० कित्ताका दरले हात पार्ने बिक्री प्रवन्धकले बताएको छ ।
पहिलो चरणमा १० कित्ताका दरले आईपीओ बाँडफाँड गरी बाँकी रहेको २ कित्ता शेयर भने यी मध्येकै दुई जना आवेदकहरूले एक–एक कित्ताका दरले थप शेयर प्राप्त गर्नेछन् ।
कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको २५ प्रतिशत दरले हुन आउने १२ लाख ३१ हजार २५० कित्ता आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले कूल कित्ता आईपीओमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा ७३ हजार ८७५ कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दामा ४ लाख ९२ हजार ५०० कित्ता, सामूहिक लगानी कोषमा ३६ हजार ९३८ कित्ता र कर्मचारीमा १४ हजार ७७५ कित्ता आईपीओ बाँडफाँड गरिसकेको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया