बैैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रिमियममा आइपिओ निष्काशन गर्न अनुमति दिएको छ । नेपाल धितोपत्र बोर्डले रिलायबल नेपाल लाइफलाई १ करोड २० लाख कित्ता आईपीओ निष्कासन गर्न असार १५ गते अनुमति प्रदान गरेको हो । कम्पनीले १०० अंकित दरमा १५७ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।
कम्पनीले सुरूमा सेबोनमा आईपीओ निष्कासनको अनुमति माग्दा ११२ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ बिक्रीको अनुमति मागेको थियो । पछि फेरि कम्पनीले प्रिमियम मूल्य बढाउँदै १९९ थपेर प्रतिकित्ता २९९ रुपैयाँमा आईपीओ जारी गर्ने अनुमति मागेको थियो । अन्त्यमा अहिले सेबोनले भने कम्पनीलाई प्रिमियम मूल्य घटाई अंकित मूल्यमा १५७ रुपैयाँ मात्र प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ जारी अनुमति दिएको छ ।
कम्पनीले कर्मचारीहरुका लागि आधार मूल्यमै ६ लाख कित्ता शेयर बिक्री गर्नेछ । त्यस पछि सामुहिक लगानीकोषका लागि भने प्रति कित्ता २५७ रुपैयाँका दरले ६ लाख कित्ता शेयर बिक्री गर्नेछ । वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई भने १२ लाख कित्ता शेयर बिक्री गर्नेछ । यसरी सबैलाई बिक्री गरेर बाँकी रहेको ९६ लाख कित्ता भने सर्वसाधारण लगानीकर्ताका लागि बिक्री गरिनेछ ।
कम्पनीको विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
प्रतिक्रिया