भगवती हाइड्रोपावरले असार २४ देखि रु.११६ को प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैैंकिङ्ग समाचार, काठमाडौं ।
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले असार २४ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि असार २४ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यमा प्रिमियम वापत रू. १६ थप गरी प्रतिकित्ता रू. ११६ मा आईपीओ जारी गर्न लागेको हो । आयोजना प्रभावित स्थानीयमा जारी पूँजी रू. ५७ करोड २० लाख ६४ हजार ७०० को १० प्रतिशत अर्थात रू. ५ करोड ७२ लाख ६ हजार ५०० बराबरको ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ विक्री गर्न लागिएको हो ।

सो शेयरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १३, १४, २६ र २७ (साविकको पोखरा उप महानगरपालिका वडा नं. १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं. २, ३, ४, ५, ६ र ७) का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ८५ लाख ८१ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँका दरले ८५ हजार ८१० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा छिटोमा साउन ७ गतेसम्म विक्रीमा रहनेछ । स्थानीयबाट सो अवधिसम्म माग बमोजिम ढिलोमा साउन २२ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ७ गतेभित्र आवेदन दिनु पर्नेछ । 

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।