बैैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट नमस्ते पे पनि फोन पेमा आवद्ध भएको छ । फोन पे क्युआर भुक्तानी नेटवर्कमा आवद्ध हुन दुई संस्थाबीच एक सम्झौता सम्पन्न भएसँगै नमस्ते पे पनि फोन पेका क्युआर मर्चेन्ट नेटवर्कमा आवद्ध भएको हो ।
उक्त सम्झौतापत्रमा फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सबै नमस्ते पे प्रयोगकर्ताहरूले नेपालभरका १२ लाखभन्दा बढी फोनपे मर्चेन्टहरूमा फोनपे नेटवर्क मार्फत छिटो, सुरक्षित र सजिलो रूपमा क्युआर भुक्तानी गर्न सक्छन् ।
कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले भने- ‘फोनपेको नेटवर्कमा नमस्ते पेलाई आधिकारिक रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ । अब नमस्तेपे प्रयोगकर्ताहरूले फोनपे क्युआर मार्फत पनि भुक्तानी गर्न सक्छन् । हामी विश्वस्त छौँ कि नमस्तेपेसँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवर्द्धन गर्न थप मद्दत गर्नेछ ।’
त्यसैगरी, नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले भने- ‘फोनपे नेटवर्कलाई हाम्रो भुक्तानी प्रणालीमा समेटी हाम्रा प्रयोगकर्ताहरूलाई १२ लाख भन्दा बढी मर्चेन्टहरूमा भुक्तानी गर्ने सेवा दिन पाउँदा हामी निकै उत्साहित छौँ । हामी हाम्रा ग्राहकहरूलाई विभिन्न सुविधाहरु प्रदान गर्दै डिजिटल अनुभव सरल बनाउन सँधै प्रयासरत छौँ । यो सहकार्यले हाम्रा ग्राहकहरूलाई निर्बाध, सुरक्षित र सुविधाजनक कारोबार र सरल भुक्तानी अनुभव सुनिश्चित गर्दछ ।’
प्रतिक्रिया