यो साता लगातार बढेको नेप्सेमा आज उच्च अंकको गिरावट, कारोबार रकम भने बढेर करिब ६ अर्ब

यो साता लगातार बढेको नेप्सेमा आज उच्च अंकको गिरावट, कारोबार रकम भने बढेर करिब ६ अर्ब


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यस साता लगातार जारी रहेको उच्च अंकको वृद्धि साताको कारोबारको चौथो दिनमा रोकिएको छ । बुधवार नेप्से ३५.३७ अंकले घटेर २ हजार १ सय ५० दशमलब ९९ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलवार नेप्से ५६.९४ अंकले बढेर २ हजार १ सय ८६ दशमलब ३६ विन्दुमा बन्द भएको थियो ।

आज नेप्सेमा उच्च अंकको गिरावट भएपनि कारोबार रकम भने बढेर करिब ६ अर्ब नजिक पुगेको छ । आज ५ अर्ब ९७ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार नेप्सेमा ५ अर्ब ४७ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका ३६ कम्पनीको शेयरमूल्य बढेको छ भने १८८ कम्पनीको शेयरमूल्य घटेको छ, १ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

आज नेप्सेमा ३ कम्पनीहरुको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर ५५७.९० रुपैयाँ पुगेको छ भने बिपिडब्लु लधुवित्तको शेयरमूल्य पनि १० प्रतिशतले बढेर १२८५ रुपैयाँ पुगेको छ त्यस्तै सिटि होटलको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी इङवा हाइड्रोपावर लिमिटेड, खप्तड लघुवित्त र तारा गाँउ रिजेन्सी होटलका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यि कम्पनीहरुको शेयरमूल्य ६ प्रतिशत भन्दा बढिले घटेको छ । 

यस्तै, नेप्सेका अनुसार आज सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ । यस कम्पनीको आज ८३ करोड ७० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।