बैंकिङ्ग समाचार, काठमाडौं ।
अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले असार १० गतेदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज असार १३ गते अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँड गरेपश्चात अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ विक्री तथा बाँडफाँटपछि सर्वसाधारणमा विक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा जेठ १ देखि १९ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जेठ १ देखि १६ गतेसम्म आईपीओ विक्री गरी जेठ ३० गते बाँडफाँट गरेको थियो ।
जारी पूँजी २२ करोडको १० प्रतिशतले हुन आउने २ लाख २० हजार कित्ता आईपीओ स्थानीयमा बाँडफाँट गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने दोस्रो चरणमा विक्री गरिने कुल कित्ता शेयरमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता बाँडफाँट गरेको हो । कम्पनीको आईपीओ प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यमै विक्री गरिएको हो ।
दोस्रो चरणका विक्री गरिने शेयरमध्ये ३२ हजार ५०० कित्ता सामूहिक लगानीकोषहरूमा समेत बाँडफाँट गरिएको कम्पनीको भनाइ छ । यीबाहेक १३ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ५ लाख ३९ हजार ५०० कित्ता आईपीओ सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याइएको हो ।
सो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
प्रतिक्रिया