बैंकिङ्ग समाचार, काठमाडौं ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले बैंकका कर्मचारीका बालबालिकाहरुलाई ‘डे केयर’ सुविधा संचालनमा ल्याएको छ । बैंकले काठमाण्डौको नयाँबानेश्वरस्थित कर्पोरेट कार्यालयमा कर्मचारीहरुका बालबालिकाका लागि डे केयर सुविधा सञ्चालनमा ल्याएको हो ।
डे केयर सुविधाको उद्घाटन नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर निलम ढुंगाना तिम्सिना र बैंकका सीईओ अनिर्वाण घोष दास्तिदारले गरेका छन् । यो सुविधा बैंकले सन् २०१३ बाट सुरु गरेको थियो । कोभिड महामारीका बेला अस्थायी रुपमा बन्द गरिएको यो सुविधा पुनः सुचारु गरिएको हो ।
सो सेवाको सञ्चालनले बैंकमा काम गर्ने महिला कर्मचारीहरुका छ महिनादेखि तीन वर्षसम्मका बालबालिकालाई हेरचाह गर्न सघाउ पुर्याउने बैंकले जनाएको छ ।
साथै, सो सेवाले बैंकमा काम गर्ने महिला कर्मचारीहरुले आफ्नो काममा केन्द्रित भएर काम गर्न सक्ने अपेक्षा बैंकले गरेको छ । डे केयर सेवाको उद्घाटनपछि डेपुटी गभर्नर ढुंगानाले बैंकमा कार्यरत महिला कर्मचरीहरुसँग छलफल गरेकी थिइन् । महिला कर्मचारीहरुलाई काममा उत्प्रेरित भएर लाग्न बाल हेरचाह सेवाले ठूलो सहयोग पुर्याउने उनले बताएकी थिइन ।
त्यस्तै, बैंकका कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले मुख्य कार्यालयको परिसरभित्र शुरु गरिएको डे केयर सेवाले महिला कर्मचारीहरुलाई आफ्ना बालबालिकाको नजिक रहेर काम गर्न सहयोग पुर्याउने बताउँदै बैंक आफ्ना स्टाफहरुको कल्याण र मानसिक स्वास्थ्यप्रति प्रतिबद्ध रहेको बताएका थिए ।
प्रतिक्रिया