शिव शिखर सहकारीको अर्बौ रकम ठगी गरी फरार रहेका पूर्वअध्यक्ष केदारनाथ शर्मा मुम्बईबाट पक्राउ

शिव शिखर सहकारीको अर्बौ रकम ठगी गरी फरार रहेका पूर्वअध्यक्ष केदारनाथ शर्मा मुम्बईबाट पक्राउ


बैंकिङ्ग समाचार, काठमाडौं ।
शिव शिखर सहकारीको अर्बौ रकम ठगी गरी फरार रहेका पूर्वअध्यक्ष केदारनाथ शर्मा न्यौपाने पक्राउ परेका छन् । नेपाल प्रहरीको सिआइबीको टोलीले उनलाई भारतको मुम्बईबाट पक्राउ गरेको हो । उनीमाथि सहकारीको १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप छ ।

शर्मालाई मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार पक्राउ गरी नेपाल ल्याएको छ । शर्माको नेतृत्वमा स्थापना भएको शिव शिखर सहकारी र तुलसी सहकारीले १४ अर्बभन्दा धेरै सर्वसाधारणको निक्षेप हिनामिना गरेको आरोप छ । उनी विरुद्ध भक्तपुर र मोरङमा मुद्दा दायर भएको छ भने अन्य जिल्लामा अनुसन्धान भइरहेको छ ।

सहकारीमा समस्या आएपछि केही महिनायता उनी भारतमा बस्दै आएका थिए । बाँकेको कोलहपुर स्थायी घर भएका शर्माले सहकारीबाट ठगेको रकम भारतको राजस्थानलगायत ठाउँमा लगानी गरेकोसमेत अनुसन्धानमा खुलेको छ ।

शर्मा भक्तपुरमा केन्द्रीय कार्यालय भई ३५ जिल्लामा शाखा कार्यालय रहेको शिव शिखर सहकारीको पूर्वअध्यक्ष हुन् । यसअघि सीआईबीले शर्माकी श्रीमती गीता शर्मासहित तीन जना सञ्चालकलाई पक्राउ गरिसकेको छ । सीआईबीले शर्मासहित सो सहकारीका सञ्चालक समितिका सदस्य पुष्कर मल्ल र अनिशराज भण्डारीलाई पक्राउ गरेको हो । अहिले उनीहरु थुनामा छन् ।