पूर्वी नेपालका विभिन्न शहरमा भएको बैंक–वित्त संस्था संचालन अवरोधको विभिन्न संघहरुले गरे भत्सर्ना

पूर्वी नेपालका विभिन्न शहरमा भएको बैंक–वित्त संस्था संचालन अवरोधको विभिन्न संघहरुले गरे भत्सर्ना


बैंकिङ्ग समाचार, काठमाडौं ।
आज पूर्वी नेपालको इटहरी, सुनसरी तथा विर्तामोड, झापा स्थित केही बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको शाखामा केही व्यक्तिहरुले शाखा संचालनमा अवरोध गरेको, कर्मचारीहरुलाई धम्क्याएको र ग्राहकहरुलाई अत्यावश्यक बैंकिङ्ग सेवा लिनबाट बञ्चित गरेकोमा विभिन्न आर्थिक संस्थाहरुले भत्सर्ना गरेका छन् । यस विषयमा सुरक्षा निकायले यथाशिघ्र आवश्यक कदम लिई शाखा संचालन गर्न तथा कर्मचारी/ग्राहकको सुरक्षाका लागी समेत उक्त संस्थाहरुले माग गरेका छन् ।

आज यि संस्थाहरुले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो बताएका छन्ः
अर्थतन्त्रको प्रमुख स्तम्भको रुपमा स्थापित बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुले मुलुकको विकास, आम सर्वसाधारणलाई प्रदान गर्ने सेवा–सुबिधाहरु, आर्थिक बृद्धिमा खेलेको भूमिका, रोजगारी सृजना लगायत प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा दिएको योगदानको बारेमा हामी सबै जानकार नै छौं ।

भूकम्प पछिको समय होस वा कोभिडको महामारी, कुनै पनि विषम परिस्थितीमा समेत आफ्नो ज्यानको पर्वाह नगरी बैंक, वित्तीय तथा लघुवित्त क्षेत्रका कर्मचारीहरु अहोरात्र आफ्ना ग्राहकहरुलाई सेवा पु¥याउन खटिएको व्यहोरा स्मरण गराउन चाहन्छौं ।

मुलुकले समेत अत्यावश्यक सेवाको रुपमा पहिचान गरेको बैंकिङ्ग क्षेत्र निर्वाध रुपमा संचालन गर्न र सेवा पुर्याउन कुनै पनि तत्वहरुले बाधा पुर्याएको खण्डमा सो गैर–कानूनी हुने सर्व विदितै छ । ग्राहकहरुले सेवा लिन आउँदा कुनै पनि अबरोध गरिएमा वा शाखा संचालनमा कुनै बाधा पुर्याइएको खण्डमा सो उपर सुरक्षा निकायले आवश्यक कदम लिनेछ भन्नेमा हामी विश्वस्त छौं ।

ऋण लिए पछि तिर्नु पर्छ भन्ने सामान्य सिद्धान्त हामी सबैले बुझ्न पर्ने र ऋण नतिर्ने बहानामा यस प्रकारका अराजक गतिविधि गर्नेहरुलाई तुरुन्तै कारवाहीको दायरामा ल्याई शान्ति/सुरक्षा कायम गरी अत्यावश्यक सेवा बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको संचालन तथा कर्मचारीहरुलाई आवश्यक सुरक्षा प्रदान गरिदिनुु हुन सरोकारवाला सबै निकायहरुसंग अनुरोध गर्दछौं । 
साथै, आगामी दिनमा यस प्रकारका कुनै पनि गतिविधिहरु भएको खण्डमा यसका विरुद्ध हामी सशक्त रुपमा प्रस्तुत हुने छौं ।