अब बैंकहरुले यस्ता क्षेत्रमा खर्चिन सक्छन् सीएसआर रकम


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन संशोधन गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन, २०८१ लाई संशोधन गरेको हो ।

एकीकृत निर्देशन संशोधन गर्दै केन्द्रीय बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट खर्च गर्नसक्ने क्षेत्र तय गरेको छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाले शिक्ष क्षेत्रमा भूकम्पलगायतका प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त गरिब तथा विपन्न वर्गको बाहुल्यता रहेका क्षेत्रका सरकारी÷सामुदायिक विद्यालय भवनको पुनःनिर्माण, विद्यालय तथा कलेजमा अध्ययनरत गरीब, पिछडिएको वर्ग तथा अपाङ्गता भएका जेहेन्दार विद्यार्थीलाई दिइने छात्रवृत्तिमा हुने खर्च, सरकारी तथा सामुदायिक विद्यालय तथा कलेजलाई वितरण गरिने कम्प्युटर, प्रोजेक्टर, इन्टर्याक्टीभ स्मार्ट बोर्ड, पुस्तक लगायतका शैक्षिक सामग्री तथा विद्यालयका लागि आवश्यक हुने अन्य फर्निचर, फिक्स्चर, पुस्तकालय स्थापना/सुधार लगायतमा गरिब तथा विपन्न वर्गको बाहुल्यता रहेका क्षेत्रमा हुने खर्च, गरिब तथा विपन्न वर्गको बाहुल्यता रहेका क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालय तथा कलेजमा शुद्ध पिउने पानीको व्यवस्था, शौचालय निर्माण वा सुधार, स्यानिटरी प्याड डिस्पेन्सर, स्यानिटाइजर डिस्पेन्सर, मास्क डिस्पेन्सर, प्राथमिक उपचार लगायतका स्वास्थ्य तथा सरसफाईसम्बन्धी आधारभूत सामग्री, विश्वविद्यालय तथा कलेजमा अर्थशास्त्र, कानून र व्यवस्थापन संकायमा अध्ययनरत गरिब तथा न्यून आय भएका परिवारका विद्यार्थीलाई सम्बन्धित विश्वविद्यालय तथा कलेजले सिफारिस गरेको आधारमा स्नातकोत्तर अध्ययन अन्तर्गत गरिने शोध, अनुसन्धान कार्यका लागि फिलोसिपमा हुने खर्च, सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा न्यून आय भएका परिवारका विद्यार्थीलाई प्रोत्साहित गर्न प्रदान गरिने विद्यालय पोशाक, शैक्षिक सामग्रीलगायतमा गरिने खर्चमा लगाउन सक्नेछन् ।

यस्तै, स्वास्थ्य क्षेत्रअन्तर्गत गरिब तथा विपन्न वर्गको बाहुल्यता रहेका क्षेत्रका सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई वितरण गरिने स्वास्थ्य उपकरण तथा सामग्रीमा हुने खर्च, गरिब तथा विपन्न वर्गको बाहुल्यता रहेका क्षेत्रका सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थामा शुद्ध पिउने पानीको व्यवस्था, शौचालय निर्माण वा सुधार, स्यानिटरी प्याड डिस्पेन्सर, स्यानिटाइजर डिस्पेन्सर, मास्क डिस्पेन्सर लगायतका लआधारभूत स्वास्थ्य तथा सरसफाई सामग्रीमा हुने खर्च, न्यून आय भएका नागरिकको जटिल स्वास्थ्य समस्याको उपचारका लागि कुनै सरकारी वा सामुदायिक अस्पतालसँग गरिने सहकार्यमा हुने खर्च, न्यून आय वर्गका अपाङ्गता भएका व्यक्तिलाई आवश्यक हुने बैशाखी, व्हील चियर, मेडिकल बेड जस्ता जीवनोपयोगी सामग्रीमा गरिने खर्च, न्यून आय भएका समुदायका नागरिकको निःशुल्क रुपमा गरिने मोतियाबिन्दुको शल्यक्रिया सम्बन्धी शिविरलगायत अन्य स्वास्थ्य शिविरमा गरिने खर्च, मानवीय सहयोग तथा राहत, प्राकृतिक प्रकोप तथा महामारीका पीडितलाई वितरण गरिने लत्ताकपडा, खाद्यान्न, औषधि, टेन्ट, भाँडालगायतका बन्दोबस्तीका सामग्रीमा हुने खर्च, व्यावसायिक रुपमा स्थापना भएका बाहेकका सम्बन्धित सरकारी निकायबाट स्वीकृति÷मान्यता लिई गरिब तथा विपन्न वर्गका नागरिकका लागि खोलिएका वृद्धाश्रम, बालगृह, मानव बेचविखनमा परेकालाई उद्धार गरी संरक्षण गर्ने संस्थालगायतका सामाजिक संस्थालाई गरिने सहयोग, गरिब, विपन्न तथा पिछडिएका समुदायमा भोकमरी, कुपोषण, अटिजम् भएका बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराउँदा हुने खर्च व्यहोर्न सक्नेछन् ।

यसैगरी बैंक तथा वित्तीय संस्थाले वातावरणअन्तर्गत गरिब तथा विपन्न वर्गको बाहुल्यता रहेका क्षेत्रमा स्थानीय तहसँग समन्वय गरी फोहोरमैला संकलन तथा वातावरण संरक्षण सम्बन्धी गरिने चेतनामूलक कार्यक्रममा गरिने खर्च, गरिब तथा विपन्न वर्गको बाहुल्यता रहेका क्षेत्रमा वातावरणीय प्रभाव न्यूनीकरणका लागि गरिने पूर्वाधार निर्माण तथा मानवीय जीवनलाई आवश्यक
पर्ने सोलार, बायोग्यास लगायतका वातावरण मैत्री सामग्रीमा गरिने खर्च, खानेपानीको समस्या भएका तथा आर्थिक रुपले विपन्न नागरिकको बाहुल्यता रहेको क्षेत्रमा स्थानीय तहसँग समन्वय गरी खानेपानीको लागि पूर्वाधार निर्माणमा हुने खर्च गर्नसक्नेछन् ।

यस्तै, वित्तीय साक्षरतामा गरिब तथा विपन्न वर्ग लक्षित वित्तीय सचेतनामूलक श्रब्य दृश्य सामग्री निर्माण तथा प्रसारण खर्च, गरिब तथा विपन्न वर्ग लक्षित वित्तीय साक्षरता सम्बन्धीे सामग्रीको निर्माण तथा वितरणमा हुने खर्च, गरिब तथा विपन्न वर्गको बाहुल्यता रहेका क्षेत्रमा वित्तीय साक्षरताको लागि प्रदेश तथा स्थानीय निकायसँग गरिने सहकार्य गरिब तथा विपन्न वर्गको बाहुल्यता रहेका क्षेत्रमा डिजिटल वित्तीय कारोबारसम्बन्धी सचेतना अभिबृद्धिका लागि गरिने तालिम कार्यक्रममा हुने खर्च गरिब तथा विपन्न वर्गको बाहुल्यता रहेका क्षेत्रमा नगद रहित कारोबार, प्रविधिको प्रयोग एवम् विद्युतीय कारोबार सम्बन्धमा जनचेतना अभिवृद्धि खर्च व्यहोर्न सक्छन् ।

यस्तै, दिगो विकास लक्ष्यअन्तर्गत दिगो विकास लक्ष्य २०१६–२०३० अन्तर्गत पहिचान गरिएका क्षेत्रमा गरिब तथा पिछडिएको समुदायको उत्थानका लागि तोकिएका लक्ष्यहरू प्राप्त गर्न सहयोग गर्ने खर्च र गरिब तथा विपन्न वर्गको बाहुल्यता रहेका क्षेत्रमा रहेका सरकारी तथा सामुदायिक विद्यालयमा खेलकुद सामग्री तथा पूर्वाधारमा गरिने लगानी, आर्थिक रुपले विपन्न समुदायको छनौट गरी त्यस्तो समुदायको आवास, शिक्षा, स्वास्थ्य, बालबालिका तथा महिलाको उत्थान तथा उक्त समुदाय बसोबास गरिरहेको निश्चित स्थान भएमा त्यसको पूर्वाधार विकास लगायतमा गरिने खर्च, गरिबीको रेखामुनि रहेका जनसमुदायको हकअधिकार संरक्षण गर्ने उद्देश्यका साथ स्थापना गरिएको सामाजिक संस्थामार्फत् त्यस सम्बन्धमा नीतिगत तथा कानूनी वकालत गर्न र त्यस्तो समुदायको राज्यसँग संवाद गर्नसक्ने क्षमता विकास गर्न व्यावसायिक सामाजिक जिम्मेवारी बहन गर्नका लागि गरिने खर्च, गरिब तथा विपन्न वर्गका व्यक्तिको आय आर्जन क्षमता अभिवृद्घि गर्ने उद्देश्यले प्रदान गरिने व्यवसायिक तथा सीपमूलक तालिम कार्यक्रममा हुने खर्च गर्न सक्नेछन् ।