बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्लो ९ कारोबार दिन देखि जारी रहेको वृद्धि आज अन्त्य भएको छ । साताको कारोबारको दोस्रो दिन आज सोमबार नेप्से २.९४ अंकले घटेर २ हजार ९१ दशमलब ३९ विन्दुमा बन्द भएको छ । आइतबार ५२.२६ अंकले बढेर २ हजार ९४ दशमलब ३३ विन्दुमा बन्द भएको थियो ।
आज नेप्सेमा सामान्य अंकको गिरावट भएसँगै कारोबार रकमपनि सामान्य घटेर करिब ५ अर्ब नजिक स्थिर रहेको छ । आज ४ अर्ब ७४ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतवार ४ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका ८० कम्पनीको शेयरमूल्य बढेको छ भने १४२ कम्पनीको शेयरमूल्य घटेको छ, १ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
आज ९ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सेन्ट्रल फाइनान्स, लक्ष्मी इक्विटी फण्ड, माउन्टेन इनर्जी शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, बीपीडब्लु लघुवित्त वित्तीय संस्था, मेन्छियम हाइड्रोपावर, सिटी होटल लिमिटेड, मकर जीतुमाया सुरी हाइड्रोपावर, सानिा इक्विटी फण्ड र लुम्बिनी विकास बैंकको शेयरमूल्यमा पनि उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेका छन् ।
आज सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज २९ करोड ८२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया