घोराही सिमेन्टको आईपीओमा आजदेखि सर्वसाधारणले प्रिमियममा आवेदन दिन पाउने

घोराही सिमेन्टको आईपीओमा आजदेखि सर्वसाधारणले प्रिमियममा आवेदन दिन पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज (जेठ ३२ गते) देखि प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री खुला गरेकोछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरुका लागि बाँडफाँड गरी बाँकी भएको सबै शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता शेयर निष्काशन गर्नेछ ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा असार ४ गते हुनेछ भने ढिलोमा असार १४ गते हुनेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।