बैंकिङ्ग समाचार, काठमाडौं ।
अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा जेठ १ गतेदेखि १९ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जेठ १ गतेदेखि १६ गतेसम्म आइपीओ विक्री गरेको थियो ।
कम्पनीले जारी पूँजी रू. २२ करोडको १० प्रतिशत अर्थात रू. २ करोड २० लाख बराबरको प्रतिशेयर रू. १०० दरका २ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि विक्री गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने दोस्रो चरणमा विक्री गरिने कुल कित्ता शेयरमध्ये १० प्रतिशतले हुन आउने रू. ६५ लाख बराबरको ६५ हजार कित्ता आईपीओ विक्री गरिएको थियो । दुबै समूहका रितपूर्वक आवेदन दिने आवेदकहरूमा सम्पूर्ण कित्ता आईपीओ जेठ ३० गते बाँडफाँड गरिएको हो ।
पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्नेछ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले लमजुङ्ग जिल्लामा २ दशमलव ४ मेगावाट क्षमताको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजना निर्माण गरेको छ ।
प्रतिक्रिया