नेशनल माइक्रोफाइनान्सको १५% बोनस शेयर शेयरधनीहरूमा वितरण

नेशनल माइक्रोफाइनान्सको १५% बोनस शेयर शेयरधनीहरूमा वितरण


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले वैशाख १५ गते सम्पन्न नवौं वार्षिक साधारणसभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात् सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ५८ करोड ६६ लाख ७४ हजारको आधारमा १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साधारण सभा प्रयोजनका लागि वैशाख ४ गतेदेखि सभा हुने दिनसम्म बुकक्लोज गरेको आधारमा वैशाख ३ गतेसम्म कायम शेयरधनीहरूले मात्र बोनस शेयर प्राप्त गरेका छन् ।

साविक महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी २०७८ साल असार ३० गतेदेखि एकिकृत कारोबार गरेकाले सो पश्चात् शेयर कायम गर्ने सदस्यहरूले बोनस शेयर वापतको कर जम्मा गरेपछि मात्र बोनस शेयर प्राप्त गर्ने कम्पनीको भनाई छ । एकिकृत कारोबारको मितिभन्दा अघिसम्म कायम शेयरधनीहरूलाई भने बोनस शेयरमा लाग्ने कर छुट हुनेछ । 

वैशाख ३ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई हितग्राही खातामा बोनस शेयर जम्मा गरिएको छ । यदि कर्जा फुकुवा भैसकेको भए आफ्नो बोनस शेयर समेत फुकुवा गर्न कम्पनीले भनेको छ । 

कम्पनीको शेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । यो कम्पनी हाल समीट लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर प्रक्रियामा रहेको छ ।