शेयर बजारमा सामान्य अंकको वृद्धि, ७.७९ अंकले बढेको नेप्सेमा कारोबार रकम ३ अर्ब मुनि

शेयर बजारमा सामान्य अंकको वृद्धि, ७.७९ अंकले बढेको नेप्सेमा कारोबार रकम ३ अर्ब मुनि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सामान्य अंकको वृद्धि भएको छ । साताको कारोबारको दोस्रो दिन आज सोमवार नेप्से ७.७९ अंकले बढेर १ हजार ९ सय ८७ दशमलब ८७ विन्दुमा बन्द भएको हो । आइतवार नेप्से ४०.४८ अंकले बढेर १ हजार ९ सय ८० दशमलब ०९ विन्दुमा बन्द भएको थियो ।

आज नेप्सेमा सामान्य अंकको वृद्धि भएपनि कारोबार रकम भने घटेर ३ अर्ब मुनि पुगेको छ । आज नेप्सेमा २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतवार ३ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका ८९ कम्पनीको शेयरमूल्य बढेको छ भने १२६ कम्पनीकोे शेयरमूल्य घटेको छ, ८ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अभियान लघुवित्त वित्तीय संस्था र कालिञ्चोक दर्शनको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने भूगोल इनर्जी डेभलपमेन्ट, सिटी होटल्स र चन्द्रागिरी हिल्सको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज प्रभु स्मार्ट फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । 

त्यस्तै, नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटल्सको भएको छ । यस कम्पनीको आज १५ करोड २८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।