प्रेमिका प्रयोग गरेर १० करोडको ठगी, ३९ पीडितहरु अलपत्र

8.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ज्ञानु श्रेष्ठ, काठमाडौं ।
आफूलाई युवा उद्यमी बताउने २२ वर्षे सुजन आचार्यले सिंगापुरमा काम लगाइदिने भन्दै नेपाली युवाबाट करोडौँ रुपैयाँ ठगी गरेको पाइएको छ । आज काठमाडौंको गैरीधारामा पत्रकार सम्मेलन गरी ३९ जना पीडितहरुले उनकी प्रेमिका भनिने बेली डान्सर बिनु शाक्यको बैंक खातामार्फत जनही ५ देखि १९ लाख रुपैयाँसम्म लिएर ठगी गरेको बताएका छन् । 

मासिक अढाइ लाखदेखि ४ लाख रुपैयाँसम्म तलब पाउने जागिरको लोभ देखाउँदै आचार्यले केही महिनादेखि विभिन्न मानिसहरुलाई ठग्दै आएको समाचार बाहिरिएपछि पिडितहरुले पत्रकार सम्मेलन नै गरेर घटनाको विवरण सार्वजनिक गरेका हुन । एक दुई पल्ट आउजाउ गरेर ट्राभल हिस्ट्री बनाएपछि सिंगापुर बसेर काम गर्न मिल्ने कार्ड बनाइदिने आश्वासनमा केही युवा सिंगापुरसमेत गएको बताए । नेपालमा भएको जागिर छोडेर, घरजग्गा बैंकमा राखेर आचार्यलाई पैसा बुझाएको अछामका एक पिडित पारस अधिकारी बताउछन् । ठगी प्रकरणमा सुजनका सानिमाका छोरा भनिएका २० वर्षे सृजन निरौला पक्राउ परिसकेका छन् । पीडितहरूले जतिसक्दो छिटो आचार्यलाई खोजेर पक्राउ गर्न पत्रकार सम्मेलनमार्फत प्रहरीको ध्यानाकर्षण पनि गराएका छन् । आचार्य सिंगापुर नजाउन्जेलका लागि भन्दै होटलमा राखेका पाँच जना पीडित युवाहरू बन्दीजस्तै बनेका छन् । 

सिंगापुरमा आफ्नो अथाह लगानी भएको, विभिन्न नेपाली रेस्टुरेन्ट किनेको र त्यसैमा जागिर लगाइदिने भन्दै आचार्यले पैसा असुलेको पीडितहरूको भनाइ छ । आचार्य यसअघि पनि विभिन्न अपराधिक गतिविधिमा समेत मुछिएका पात्र हुन। कुनै बेला आफूलाई नेपालकै कान्छो पत्रकार भनेर प्रचार गर्ने उनी मकवानपुरको हीरा लुट प्रकरण, एक मोडललाई भिडियो देखाएर ब्ल्याकमेलिङ प्रकरण लगायतमा समातिएर छुटेका पात्र हुन् ।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १० स्थायी घर भई हाल सिंगापुर बस्दै आएका सुजन आचार्य नाम गरेका व्यक्तिले उनकै प्रेमिका भनिने बिनु शाक्य र सानिमाको छोरा अथार्त उनका भाइ सृजन निरौला लगायतलाई परिचालन गरी सिंगापुरमा आफ्नै कम्पनीमा आकर्षक तलब सुविधासहित रोजगारी दिने आश्वासन दिएका थिए । 

पैसा बुझाउनेमध्ये केही साथीलाई आचार्यले ट्राभल हिस्ट्री बनाउनुपर्ने भन्दै भिजिट भिसामा सिंगापुर बोलाए । अनिल अधिकारी, प्रेम साउद, पारस अधिकारी, प्रकाश विके, आयुष विके, मनोज उप्रेती, अभिशेक श्रेष्ठ, ऋषिमान तामाङ, महेश तामाङ, सुमन दङ्गाल, अनिल भण्डारी, गोविन्द पुरी, अमित तामाङलगायतले पत्रकार सम्मेलनमा साथीहरू के रहेछ भनेर बुझ्न सिंगापुर गएको पनि बताउँछन । उनीहरु भन्छन, ‘त्यहाँ हाम्रो अगाडि आचार्यले आफू सिंगापुरस्थित एस ग्रुप ग्लोबल कम्पनीको मालिक हुँ भने । नक्कली र फोटोसप गरिएका कागजपत्र देखाएका रहेछन, त्यो बेला हामीले थाहै पाएनौं । विश्वासमा पर्यौ । कम्पनीले हस्पिटालिटी बिजनेसमा ठूलै लगानी गर्न लागेको र सिंगापुरको पाँच तारे भिलान्द्रो होटलमा पनि आफ्नो शेयर रहेको आचार्यले दाबी गरे । हामीलाई भ्रममा राख्न आचार्यले कुनै कसर बाँकी छोडेनन् ।’ 

उनले १० करोड रुपैयाँमा गोरखा, एभरेस्ट र हिमालयनजस्ता नेपाली रेस्टुरेन्ट किन्ने डिल भइसकेको दाबी गर्दै उनीहरुले भने, ‘सिंगापुरको बैंकमा आफ्नो पाँच लाख डलर बचत रहेको विवरण देखाए । विश्वास दिलाउन हाम्रैअगाडि फोन गरेर रेस्टुरेन्टका थप सामानहरू मगाएजस्तो गरे । नेपालीहरूलाई ठगेको पैसाले उनी त्यहाँ मोजमस्तीका साथी बसेका रहेछन । उनले हामीलाई एकपल्ट सिंगापुर पुगेर फर्किंदा ट्राभल हिस्ट्री बन्ने, त्यसपछि नेपालमा दुई महिना बस्नुपर्ने, यता बस्दा महिनाको हजार सिंगापुर डलरका दरले दुई महिनाको दुई हजार डलर पाउने, त्यसपछि फेरि सिंगापुर गएर आरामले काम गर्न पाइने आश्वासन दिए ।’

आचार्यले सिंगापुरमा महिनाको ३ हजार सिंगापुर डलर ९२ लाख ९३ हजार नेपाली रुपैयाँ देखि ४८ सय सिंगापुर डलर ९४ लाख ७० हजार रुपैयाँ सम्म कमाइ हुने भनी २०७९ सालको विभिन्न समयमा हामीसँग प्रतिव्यक्ति पाँच लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म असुलेको उनीहरुको दाबी छ ।

उनीहरु भन्छन, ‘यसरी ठगिएका हामी १२ भन्दा बढी जिल्लाका छौं । हामी त एकापसमा सम्पर्क भएकाले यति संख्यामा भयौँ, हामीसँग सम्पर्कमा नभएका अझै २५/३० जना पीडित हुनुहुन्छ । उहाँहरू जाहेरी दिएर बस्नुभएको छ । सबैसँग गरी सुजन आचार्यले कूल १० करोड रुपैयाँ ठगी गरेका छन् ।’