बैंकिङ्ग समाचार, काठमाडौं ।
अब नेपालमा व्यवसाय गर्न आउने विदेशी पुनर्बीमा कम्पनी र पुनर्बीमा ब्रोकर कम्पनी नेपाल बीमा प्राधिकरणमा सूचीकृत हुनुपर्ने भएको छ । प्राधिकरणले बीमकको पुनर्बिमा निर्देशिका संशोधन गर्दै यस्तो प्रावधान गरेको हो ।
रीतपूर्वक निवेदन दिएका कम्पनीलाई प्राधिकरणले सूचीकृत गरी सूचीकरण नम्बर प्रदान गर्नेछ । यो नम्बर प्रत्येक वर्ष प्राधिकरणबाट नवीकरण गर्नुपर्नेछ ।सूचीकरण नम्बर प्राप्त गर्ने पुनर्बिमा ब्रोकरले चालू आर्थिक वर्ष २०७९/८० सकिएको ६ महिनाभित्र नेपालमा संयुक्त लगानीमा कम्पनी वा शाखा कार्यालय स्थापना गर्नुपर्ने समेत प्राधिकरणले व्यवस्था गरेको छ ।
नेपालका बीमा र पुनर्बिमा कम्पनीले यसरी सूचीकरण भएका कम्पनी र ब्रोकर कम्पनीसँग मात्रै कारोबार गर्नुपर्ने प्रावधान राखिएको छ । नेपाली कम्पनीले विदेशी पुनर्बिमा कम्पनीसँग गरिएको कारोबारको तथ्यांक राख्न यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया